अशोक कुमार ठाकुर
काठमाडौँ, २६ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजधानी काठमाडौँमा ठुलो विरोध प्रदर्शन गर्दैछ। पार्टीले विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा केन्द्रिय विरोध सभा गर्ने तयारी गरेको हो। यसका लागि प्रशासनसँग पूर्व स्वीकृति लिइसकेको राप्रपाले जनाएको छ।
विरोध सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय झण्डासहित एकजुट हुन आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यी भ्रष्टहरूको देशप्रेम र राष्ट्रियता हराएको छ। लुटतन्त्रका नाइकेहरू कति डराएको! जाबो एउटा कार्यक्रमको डरले थुरथुर कापेर अनुमति नै दिएका छैनन्, तर पनि राप्रपाको कार्यक्रम रोकिँदैन।”
विविध आन्दोलनले राजधानीको आवागमन प्रभावित
यसैबीच, काठमाडौँको माइतीघरदेखि बबरमहल सडक खण्डमा शिक्षक आन्दोलन जारी रहेको छ। सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरू शान्तिबाटिकादेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्म विरोध प्रदर्शन गर्दै आएका छन्। यसरी राजधानीभर विभिन्न प्रदर्शनहरू भइरहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमनमा असर पर्ने अनुमान गरिएको छ।
ट्राफिक व्यवस्था र डाइभर्सन
सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले मुख्य क्षेत्रहरूमा सवारी साधन डाइभर्सनको व्यवस्था गरेको छ। प्रमुख डाइभर्सन क्षेत्रहरू यस्ता छन्:
खसीबजार – मकालु – कलङ्की चोक – बाफल
बल्खु चोक – कुलेश्वर – कालीमाटी चोक – टेकु
कीर्तिपुर – सुन्दरीघाट – सानेपा – एकान्तकुना
संभावित डाइभर्सन क्षेत्रहरूमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर समावेश छन्। ट्राफिक महाशाखाले सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
पार्किङको व्यवस्था
कार्यक्रममा सहभागी सवारी साधनका लागि निम्न स्थानहरूमा पार्किङको व्यवस्था गरिएको छ:
टियू गेटदेखि चोभार सडक खण्ड
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह क्षेत्र
नयाँ बसपार्क
सीतापाइला–बाफल सडक खण्ड (एक साइड)
सुरक्षा व्यवस्था कडा
विभिन्न समूहहरूको प्रदर्शन र भिडभाडको सम्भावना रहेकाले राजधानीका संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी फोर्स परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूलाई शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्दै जनताको सुरक्षालाई प्राथमिकतामा राख्न निर्देशन दिइएको छ।