मोरङ । मोरङको लेटाङकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शव फेला परेको झण्डै डेढ महिनापछि प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र स्थानीय सुराकीको सहयोगमा स्थानीय पदमबहादुर अधिकारीलाई पक्राउ गरिएको हो। अधिकारी बालिकाकै छिमेकी रहेको स्रोतले बताएको छ।
गत असोज २१ गतेदेखि बेपत्ता रहेकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा कुहिएको अवस्थामा फेला परेको थियो। हत्यामा संलग्न व्यक्ति नखुल्दा प्रहरीको अनुसन्धान लामो समयदेखि चुनौती बनेको थियो।
बेपत्ता भएको ६२ दिनपछि र शव फेला परेको ४५ दिनपछि, शुक्रबार (मंसिर १९) अधिकारी पक्राउ परेको स्रोतले जानकारी दिएको छ।
शुक्रबार नै पक्राउ परे पनि थप अनुसन्धानका कारण प्रहरीले उनलाई सार्वजनिक गरेको छैन। अधिकारीका करिब २ वर्षकी नातिनी समेत रहेका छन्। करिब ५२–५५ वर्ष उमेरका अधिकारी बालिकाको खोजीमा समेत सक्रिय देखिएका थिए, जसले घटनालाई स्थानीय तहमा झन् रहस्यमय बनाएको छ।
शव फेला परेपछिठिकै अधिकारी भारत पुगेका थिए। प्रहरीको निरन्तर सम्पर्क र ‘छिमेकी भएकाले सहयोग गर्नुपर्छ’ भन्दै फकाएको कारण उनी नेपाल फर्किएको बताइएको छ। नफर्किएको भए प्रहरी भारत पुगेर पक्राउ गर्नुपर्ने अवस्था भएको स्रोतको दाबी छ।
उता, हत्याको मुख्य आरोपी सार्वजनिक नहुँदा अंशुको परिवारले शवसमेत बुझेको छैन।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, डीएसपी कोपिला चुडाल, प्रहरी निरीक्षक सरोज खनाल लगायतको टोली लामो समयदेखि घटना अनुसन्धानमा खटिएको थियो। प्रदेश प्रहरी कार्यालय र सिआइबीको टोलीले समेत अनुसन्धानमा सहभागिता जनाएका थिए।
मोरङ प्रहरीले हत्यामा संलग्न व्यक्ति पक्राउ गरिएको पुष्टि गर्दै आज अभियुक्तलाई सार्वजनिक गर्ने तयारी गरेको छ।
