जेन–जी आन्दोलनपछि दबाब बढ्दो, तर ओली अझै अडानमा
देव नारायण शर्मा
बिराटनगर, २६ असोज
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्ष पद नछोड्ने अडान लिएका छन्।

जेन–जी पुस्ताको आन्दोलनले बालुवाटारबाट गुण्डु पु-र्याएका ओलीमाथि पछिल्लो समय पार्टीभित्र र बाहिर दुबै तर्फबाट राजीनामाको दबाब तीव्र बनेको छ।
सडक आन्दोलनपछि सत्तापलट हुन पुगेपछि ओलीको पासपोर्ट रोक्नेदेखि राजधानी बाहिर निस्कन समेत सरकारले प्रतिबन्ध लगाएको छ।
बालकोटस्थित निवास जलेपछि हाल गुण्डुमा डेरा गरी बस्दै आएका ओलीले त्यहीं सचिवालय बैठक बोलाएका थिए। बैठकमा उनले स्पष्ट रूपमा राजीनामा नदिने अडान दोहोर्याएका छन्।
“दुई जनाले राजीनामा माग्नुभयो, मैले किन छाड्ने ?” — केपी शर्मा ओली, सचिवालय बैठकमा
बैठक स्रोतका अनुसार, शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आइतबार आफ्नो धारणा राखेका थिए। त्यसक्रममा सचिव गोकर्ण विष्ट र योगेश भट्टराईले अध्यक्ष ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए।
‘अब तपाईँले सम्मानजनक निकास दिएर पुनर्गठनको वातावरण बनाउनुपर्छ,’ उनीहरूले बैठकमा बताएका थिए। उनका अनुसार, ओलीले पदबाट हट्दा पार्टीको मात्र होइन, स्वयं ओलीको राजनीतिक प्रतिष्ठा र भविष्यको पनि रक्षा हुने थियो।

सचिव विष्टले जेन–जी पुस्ताको विद्रोहलाई विदेशी षड्यन्त्रको नाममा बेवास्ता गर्न नमिल्ने बताए।
‘बाहिरी शक्तिहरूले हाम्रो जस्तो मुलुकमा चलखेल गर्न खोजिरहेकै हुन्छन्,’ उनले भने,
‘तर त्यस्तो चलखेलबाट जोगाउने कामको नेतृत्व सरकारले गर्नुपर्ने हो, जुन हुन सकेन।’
सडकबाट सत्तापलट हुने तहको घटनाबारे जानकारी नपाउनु र पूर्वतयारी नगर्नु सरकारको शासकीय असक्षमता रहेको विष्टको तर्क थियो।

