देवनारायण शर्मा 

विराटनगर, २९ फागुन

मोरङ – होलीको रंगीन माहोलसँगै धनपाल गाउँपालिकामा लामो समयदेखिको विवाद अन्ततः समाधान भएको छ। गाउँपालिकास्तरीय १५ सैया आधारभूत अस्पताल भवनको निर्माण कार्य शुभारम्भ कार्यक्रममा सहभागी भएका जनप्रतिनिधिहरूबीच केही दिनदेखिको तिक्तता अन्त्य भएको हो। एक-अर्काबीचको असमझदारीलाई बिर्सँदै, गाउँपालिकाका प्रमुख तथा पदाधिकारीहरू रङ, अबिर खेल्दै भाइचारा कायम गर्ने संकल्पसहित एउटै समूहमा भेला भए।

गाउँपालिकाका जनप्रतिनिधिहरूबीच विभिन्न विषयमा मतभेद देखिँदै आएको थियो। तर, फागु पूर्णिमाको अवसरमा आयोजित विशेष संवाद तथा शुभारम्भ कार्यक्रममा अन्ततः मेलमिलाप कार्यक्रमसमेत गरिएपछि सबैजनाले पुराना गुनासा भुलेर नयाँ ऊर्जा तथा एकताको भावना बोकेर होली मनाए।

गाउँपालिका अध्यक्ष जिवस गच्छेदारले भने, होलीले हामीलाई मित्रता र भाइचाराको पाठ पढाएको छ। अब हामी सबै मिलेर विकासका कार्यमा जुट्नेछौं। वडा नम्बर ५ का वडा अध्यक्ष गयानन सरदारले पनि सहमति जनाउँदै भने, पुराना कुराहरू बिर्सेर मिलेर काम गर्नु नै उत्तम विकल्प हो।”

स्थानीय बासिन्दाहरूले पनि यो घटनालाई सकारात्मक रूपमा लिएका छन्। “नेताहरू मिल्दा गाउँ समृद्ध हुन्छ,” एक स्थानीय बासिन्दाले प्रतिक्रिया दिए।

यसरी, रंगहरूको पर्वले धनपाल गाउँपालिकाका जनप्रतिनिधिहरूलाई एकतामा बाँध्दै समृद्धिको नयाँ बाटो खोल्ने आशा गरिएको छ।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *