

देव नारायण शर्मा
बिराटनगर, १३ फाल्गुण
माओवादी केन्द्रको तराई मधेश जागरण अभियान अन्तर्गत मोरङ जिल्लाको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा आज (१३ गते) विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका अन्य केन्द्रीय नेताहरूको उपस्थितिमा सम्बोधन गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको जनसांस्कृतिक प्रस्तुति समेत रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसी, मुस्लिम, राजबंशी, कोच, झगरलगायत अल्पसंख्यक समुदायहरूको अधिकार संरक्षणका लागि विशेष, स्वायत्त र संरक्षित प्रदेश आवश्यक रहेको बताए।
उनले संविधान संशोधनको प्रस्ताव दर्ता गरिसकेको उल्लेख गर्दै कांग्रेस र एमालेलाई जनताको अधिकार खोस्ने पक्षमा रहेको आरोप लगाए। साथै, उनले यो अभियान हुलाकी राजमार्गबाट सुरु गरिएको जानकारी गराउँदै विभेद, अन्याय र शोषणका विरुद्ध जनतासँग मिलेर पुनः संघर्ष गर्ने उद्देश्य रहेको स्पष्ट पारे।
कार्यक्रममा नयाँ कार्यकर्ताहरू पार्टी प्रवेश गर्दै माओवादी केन्द्रमा सक्रिय रूपमा लाग्ने घोषणा गरेका थिए। माओवादी केन्द्रले तराई मधेश केन्द्रित जागरण अभियानलाई अझ प्रभावकारी बनाउने बताउँदै, प्रतिक्रियावादी शक्तिहरूको विरुद्ध एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।