✍️ चन्द्रप्रसाद अधिकारी(बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता)
मेरो गाउँको यथार्थबाट सुरु भएको कथा…
वि.सं. २०४९ सालको कुरा हो। पूर्वी नेपालको एउटा सानो गाउँ, जहाँ स्कुल कमै थिए, कलेजको त परिकल्पना नै थिएन। त्यही गाउँमा सबिन, प्रविन र नबिन — तीन असाध्यै मिल्ने साथीहरू एउटै विद्यालयमा कक्षा ३ देखि १० सम्म सँगै पढे। उनीहरूकै मिलनका कारणले आर्थिक अवस्था फरक भएका ती तीनै परिवारलाई पनि नजिक बनायो। उनीहरु एकआपसमा अर्मपर्म, सुखदुःखको साझेदारी थियो, गाउँको त्यो सानो टोलमा। उनीहरु यसैमा रमाएका थिए l
वि.सं. २०४९ सालमा उनीहरूले आफ्नो गाउको जनसेवा स्कुलबाट सँगै एस.एल.सी. दिए र पास पनि गरे। तर त्यसपछि उनीहरूको बाटो फरक भयो। सबिनका बाबुआमाको आर्थिक अवस्था कमजोर थियो। छोरालाई सहर पठाएर पढाउने सामर्थ्य थिएन। अन्ततः उनीहरू बाध्य भए — सबिनलाई भारत काम गर्न पठाउन। यो भागमा सबिनको कथा मात्रै जोडिएको छ बाकी भागमा अरु दुई साथीको कथा आउने छ प्रतीक्षा गर्नुहोला l
सबिन भारतमा करिब ५ वर्ष बसे। फर्केपछि विवाह गरे र फेरि उनको जीवन पनि फेरि भारतकै बम्बईसँग जोडियो। आज उनका दुई सन्तान छन् — तर ती पनि बम्बईमै। सबिनकी बहिनी पनि वैदेशिक रोजगारीमा दुबई गइन। तर उनी बुबाआमाको लागि कहिल्यै फर्किइनन्। साँचो भन्नुपर्दा फर्किइन् — तर बाकसमा। सबिनकी आमा छोरीको पीडाले र दमको रोगले सात वर्ष अघि नै बितिन्। उनका ८० वर्षीय बाबु अहिले गाउँमा एक्लै छन्, सुगर र प्रेसरको औषधिमा बाँचेका। तर पनि आज बाबु झ्यालको खिडकीमा छोरा र छोरीको प्रतीक्षामा ‘जिउँदो लास’ भएर बाँचेका छन्। बिरामी पर्दा उनलाई अस्पताल कसले लाने हो ? कसले स्याहार गर्ने? को छेउमा बस्ने? यस्ता धेरै प्रश्नै प्रश्नले घेरेकोछ l
गाउ त आज सुनसान छ, घर पुरानो भएको छ संरक्षण गर्ने मान्छे छैन, गाउमा मोटर बाटो पुग्यो मोटर कुदछ चडनका लागि मान्छे छैन, हस्पिटल पुग्यो बृदा बुबाआमा छन् उनीहरुलाई हस्पिटल लगिदिने मान्छे छैन, इन्टरनेट पुग्यो बाआमालाई चलाउन आउदैन सिकाईदिने मान्छे छैन, गाउमा मान्छे मर्दा लास बोक्ने मान्छे छैन अब भारत, दुबई, कतार, अमेरिका, जापान, आदि रास्ट्र बाट लास बोक्ने मान्छे खेताला खोज्नुपर्ने दिन आयो, मलामीको त हिसाब नै छैन l
देशमा हिजो पंचायत ब्याबस्था थियो सोहि समय देखि नै मंत्री भएकाहरु आज पनि मंत्री नै छन्, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई आदि पनि एकपटक प्रधानमन्त्री त भए तर कसका लागि भए थाहाभएन l मुख्य गरि शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड पटकपटक प्रधानमन्त्री भए तर जनताले के पाए ?
आखिर यो कहिले सम्म हो? देशमा सासन परिबर्तन भयो बहुदल आयो, गणतन्त्र आयो, संघियता आयो आखिर जनताले के पायो? यो त मेरो सानो गाउको कथा मात्रै हो तपाईको गाउमा त यस्तो छैन होला हैन ?
सबिनको परिवारको पीडा मात्र होइन — यो त गाउँगाउँको साझा पीडा हो। लाखौँ नेपालीहरू आज बाध्यताले विदेशिएका छन्। कसैले रहरले, कसैले ऋण तिर्न, कसैले छोराछोरीको पढाइका लागि। तर अधिकांशका कथा एउटै छन् — आँसु, पर्खाइ, एक्लोपन, बाकस र पीडा।
के भन्छन् तथ्यांकहरू?
नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा मात्रै ७ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारी र करिब १५०,००० ले उच्च शिक्षाको अनुमतिका लागि स्वीकृति पाएका थिए। वैदेशिक रोजगारी मध्ये करिब ९०% पुरुष र १०% महिला थिए। मुख्य गन्तव्य देशहरूमा मलेसिया, कतार, साउदी अरेबिया, युएई, कुवेत, कोरिया र जापान पर्दछन्। उच्च शिक्षाको अनुमति मध्ये करिब ८०% पुरुष र २०% महिला थिए। मुख्य गन्तव्य देशहरूमा लागि भने जापान, अमेरिका, अस्ट्रेलिया, युके, आदि रहेकाछन् l
विश्व बैंक (2023) को रिपोर्टले देखाउँछ, नेपालले १०.२ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको थियो, जुन GDP को २३% हिस्सा हो। यसले अर्थतन्त्रलाई बलियो बनाएको भए पनि समाज र परिवारमा गम्भीर असर पारेको छ।
वैदेशिक रोजगारीमा गएका मध्ये विगत १० वर्षमा ७,५०० भन्दा बढी नेपाली श्रमिकको मृत्यु भइसकेको छ, जसमा अधिकांश हृदयघात, दुर्घटना वा आत्महत्याका कारण भएका हुन्। औसतमा हरेक दिन २ जनाभन्दा बढी नेपाली बाकसमा फर्किन्छन्। केवल अर्थतन्त्र होइन, सामाजिक संरचना पनि च्यातिएको छ
हाम्रो समाजमा वैदेशिक पलायनले ल्याएको आर्थिक फाइदा चम्किलो देखिए पनि सामाजिक र मानसिक पक्षमा गहिरो चपेटा परेको छ। Nepal Demographic and Health Survey (NDHS) अनुसार, करिब ३०% बालबालिका एकल अभिभावक सँग हुर्किरहेका छन्। यसले उनीहरूको मानसिक स्वास्थ्य, पढाइ र सामाजिक विकासमा दीर्घकालीन असर पारेको देखिन्छ ।
कति नेपालीले त आफ्ना आमाबुबालाई अन्तिम पटक पनि देख्न पाउँदैनन्। कतिले आमा-बुबाको चिहान भिडियो कलमै हेरेर आँसु झार्नुपरेको छ। विदेशमा रात दिन पसिना बगाउने छोराको सपना एउटै हुन्छ — “एकदिन फर्केर आफ्नै देशमा केही गर्ने।” तर फर्किएपछि पनि करिब ७०% नेपालीले आफ्नै देशमा काम गर्न सक्ने अवसर नपाएको देखिन्छ। बाध्यतावश उनीहरू पुनः विदेशिन पुग्छन्।
वैदेशिक पलायनका प्रमुख कारणहरू:
१. बाध्यता कि अवसर?
नेपालको मुख्य निर्यात अब कृषि वा हस्तकला होइन, श्रम हो। खाडी, मलेसिया, कोरिया, जापान, युरोप र अमेरिकासम्म पसिना बगाइरहेका नेपाली युवाहरू बाध्यताले होस् या अवसरको भ्रममा परेर होस्, परदेशिन विवश छन्। आर्थिक अभाव, बेरोजगारी र ऋणको थुप्रो बोक्न नसकेर बुबाको थोत्रो जमिन धितो राखेर गएका युवाहरूको फर्किने ग्यारेन्टी छैन। कोही बाकसमा फर्किन्छन्, कोही त कहिल्यै फर्किन्नन्।
२. सामाजिक विछोड र भावनात्मक चटारो
आर्थिक सफलताको परिभाषा विदेशिएको सन्तानमा सीमित छ। तर त्यसको मूल्य बृद्ध आमाबाबुको एक्लोपन, एकान्त, र प्रतीक्षामा चुकाउनु परेको छ। Western Union को रसीद आउँछ, तर छोरा वा छोरीको अँगालो हुँदैन। फोनको स्क्रिनबाट हेर्ने अनुहार मात्रै बाँकी छ—आत्मीयता हराएको।
३. सांस्कृतिक परिवर्तन : परम्परा भर्सेस प्रविधि
आज दसैंको टीका Zoom मा, तिहारको देउसी TikTok मा, बाबुको मुख Messenger मा हेर्ने चलन सुरु भएको छ। चाडपर्व डिजिटल बनेका छन्। पश्चिमी सभ्यताको आकर्षणमा हामी मौलिकता र आत्मीयता गुमाइरहेका छौं।
४. गाउँको गहिरिँदो शून्यता
सडक पुगेको छ, मोटर गुडेको छ, इन्टरनेट पनि पुगेको छ। तर गाउँमा यात्रा गर्ने मान्छे छैनन्। गाउंमा विद्यालय त छन्, पढ्ने विद्यार्थी छैनन्। अस्पताल छ, तर उपचार गराउने बृद्ध आमाबाबुलाई अस्पताल लैजाने मान्छे छैन। बाकस बोक्ने ट्रकहरू मात्रै गाउँ पस्ने गरेका छन्।
५. राजनीतिक असफलता र राज्यको बेवास्ता
राजनीतिक परिवर्तन भए—पञ्चायत गयो, बहुदल आयो, गणतन्त्र आयो, संघीयता आयो। तर जनताले के पाए? नीति तर्जुमा गर्न नसक्ने, अवसर सिर्जना गर्न असफल राज्यले युवालाई देशमै काम गर्न सक्ने वातावरण निर्माण गर्न सकेन। सत्तामा बारम्बार उही अनुहार शेरबहादुर, ओली र प्रचण्ड नै पटकपटक प्रधानमन्त्री भए। झन् अहिलेका प्रधानमन्त्री ओली त ईतिहास कै असफल प्रमा भए l
६. अवसरको अभाव र सीपको अवमूल्यन
पढेलेखेका युवाहरूले देशमै अवसर पाउँदैनन्। पीएचडी गरेको युवकले पनि रिसोर्टमा रिसिप्सनिस्ट बन्न विदेशिनुपर्ने विडम्बना छ। सीप र ज्ञानको कदर छैन। श्रमलाई सम्मान गरिदैन। शिक्षित युवाहरू बौद्धिक हैन, शारीरिक श्रम गर्न विदेशिन्छन्।
७. आर्थिक भार र ऋणको चक्रव्यूह
परदेश जानको लागि ऋण लिइन्छ। एजेन्टलाई पैसा तिर्नुपर्छ। ऋण तिर्नका लागि श्रम बेचिन्छ। कति युवाहरू ऋणकै चक्करमा जीवन गुमाउँछन्, बाकसमा फर्किन्छन्।
८. सस्तो श्रमिक देशको छवि
नेपाल सस्तो श्रमिक निर्यात गर्ने देशको रूपमा चिनिएको छ। वैदेशिक रोजगारको नियमन, श्रमिक अधिकारको सुरक्षा राज्यले गर्न सकेको छैन। डलर पठाउने मेसिन बनेका छन् नेपाली युवा।
९. बृद्ध बाबुआमाको दृष्टिमा बाकस
आशाले बाटो हेर्दै बस्ने बृद्ध बाबुआमाका हातमा सन्तान फर्किन्छ—तर बाकसमा। अन्तिम संस्कार स्क्रिनबाट हेर्नुपरेको पीडा थाम्न नसक्ने अवस्था छ। बाँकी जीवन उनीहरू जिउँदो लासझैं बिताइरहेका छन्।
१०. समृद्धिको सपना कि सम्बन्धको मूल्य?
विकासको अर्थ हामीले केवल भौतिक संरचनामा सीमित गरेका छौं। तर आत्मीयता, सम्बन्ध र मानवता हराउँदै गएका छन्। अब विकासको परिभाषा भौतिक पूर्वाधार मात्र होइन—भावनात्मक पुनर्निर्माण पनि हुनुपर्छ।
अबको बाटो — समाधान के हुन सक्छ?
१. रोजगारी सिर्जना : देशमै काम गर्न पाउने व्यवस्था
- के गर्ने? कृषि, पर्यटन, सूचना प्रविधि, लघु उद्यम र निर्माण क्षेत्रमा ठूला रोजगारी अभियान सुरु गर्नुपर्छ। निजी क्षेत्र र सहकारीमार्फत स्वरोजगार कार्यक्रमलाई सहयोग र अनुदान दिनु आवश्यक छ।
- किन? कामको खोजीमा बाहिरिएको युवाशक्ति देशमै रोक्न सकेर उनीहरूलाई आत्मसम्मानसहितको रोजगार दिन सके परदेश पलायनमा कमी आउँछ।
२. सीप विकास र सीपको कदर
- के गर्ने? प्राविधिक शिक्षालाई विद्यालयदेखि जोड्नुपर्छ। प्राविधिक तालिम केन्द्रहरू विस्तार गर्दै युवालाई खेती, उद्योग, निर्माण, सूचना प्रविधि जस्ता क्षेत्रमा दक्ष बनाउनुपर्छ।”सीपलाई श्रमको सम्मान” भन्ने अभियान चलाएर सीपयुक्त व्यक्तिहरूलाई देशमै रोजगारमा जोड्नुपर्छ।
- किन? दक्ष श्रमिक विदेश पठाउनेभन्दा देशमै उत्पादनशील क्षेत्रमा प्रयोग गर्दा आर्थिक र सामाजिक दुवै विकास हुन्छ।
३. प्रवासी नेपालीको लगानी आकर्षित गर्ने
- के गर्ने? विदेशमा रहेका नेपालीलाई नेपालको उद्योग, पर्यटन, ग्रीन इनर्जी, कृषि उद्योगमा लगानी गर्न सहज बनाउने नीति बनाउनु पर्छ। “विदेशी लगानी बोर्ड” जस्तै “प्रवासी नेपाली लगानी बोर्ड” स्थापना गर्न सकिन्छ।
- किन? प्रवासी नेपालीले विदेशमा कमाएको पैसा केवल घर किन्ने र गाडी किन्नेमा सीमित नरहोस्। उनीहरूको सीप, पुँजी र अनुभवलाई देशमै उपयोग गर्न सकिन्छ।
४. वृद्ध अभिभावकको सामाजिक सुरक्षाको विस्तार
- के गर्ने? बृद्ध नागरिकको स्वास्थ्य बीमा, नियमित स्वास्थ्य परीक्षण, बृद्धाश्रमको सुधार, घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम सञ्चालन गर्नुपर्छ। गाउँ–गाउँमा “बृद्ध सेवा केन्द्र” स्थापना गर्न सकिन्छ, जसले औषधि, खानपिन, रेखदेख गर्ने सेवा दिन सक्छ।
- किन? छोराछोरी विदेश हुँदा आमाबाबा एक्लै बस्नु पर्दैन। उनीहरूको जीवनलाई सम्मानजनक बनाउन सकिन्छ।
५. प्रवासी सन्तान र अभिभावक बीच सम्बन्ध प्रवर्द्धन
- के गर्ने? सरकारले “आमा–बुवा सम्झना कार्यक्रम” सञ्चालन गरेर विदेशिएका सन्तानलाई वर्षमा कम्तीमा एकपटक घर फर्कन प्रोत्साहन गर्ने वातावरण बनाउनु पर्छ (जस्तै : हवाई भाडामा सहुलियत, विदामा सहयोग)। विदेशमा रहेका युवालाई अभिभावकसँग संवाद गर्ने, नियमित सम्पर्क गर्ने संस्कार प्रवर्द्धन गर्ने अभियान चलाउन सकिन्छ।
- किन? सन्तान सगको भौतिक दूरी नजिक्याउन सकिन्न, तर भावनात्मक दूरी कम गर्न सकिन्छ।
६. सरकारी नीति सुधार र भ्रष्टाचार नियन्त्रण
- के गर्ने? श्रम, रोजगार, युवा तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सक्षम र प्रभावकारी बनाइ रोजगार, स्वरोजगार, सीप विकास र श्रमिक सुरक्षामा केन्द्रित बनाउनु पर्छ।भ्रष्टाचार नियन्त्रण गरेर युवा लक्षित कार्यक्रमहरूमा अनियमितता रोक्न सकिन्छ।
- किन? नीतिहरू राम्रो छन्, तर कार्यान्वयनमा राजनीति र भ्रष्टाचारले अवरोध गरेको छ। इमान्दार सरकार र जिम्मेवार नीतिले समस्या समाधानको बाटो खोल्न सक्छ।
७. भौतिक विकाससँगै भावनात्मक पुनर्निर्माण
- के गर्ने? सरकार र समाज दुबैले “सामाजिक पुनर्निर्माण” लाई विकासको मुख्य अङ्ग बनाउनुपर्छ। प्रविधि र भौतिक संरचना विकाससँगै आत्मीयता, सम्बन्ध र संस्कार जोगाउने कार्यलाई प्राथमिकता दिनुपर्छ।
- किन? विकास केवल सडक र भवन हैन, घरभित्र खुसी छ कि छैन भनेर हेर्ने नीति र योजना ल्याउनु जरुरी छ।
८. गाउँ केन्द्रित विकास मोडल
- के गर्ने? काठमाडौँ–केन्द्रित विकासको सट्टा गाउँ–केंद्रित विकास मोडल ल्याउनुपर्छ। गाउँमा उद्योग, कृषि फार्म, पर्यटन केन्द्र, इन्टरनेट व्यवसाय, आधुनिक अस्पताल जस्ता पूर्वाधार विस्तार गर्न सकिन्छ।
- किन? गाउँमा रोजगारी र सेवा सुविधा पुग्यो भने मान्छे बस्न थाल्छ। गाउँ जोगिए देश बच्छ।
९. राजनीति हस्तान्तरण
- के गर्ने? शेरबहादुर, केपी, प्रचण्ड, माधव, झलनाथ, बाबुराम, प्रयोग भैसकेका प्रधानमन्त्री हरुहुन अब नया पुस्तालाई हस्तातार्ण गर्ने। अब समय आएको छ कि देशले नयाँ पुस्ताका नेताहरूलाई नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरोस्। पुराना नेताहरूले ‘संरक्षक’को भूमिकामा रहेर नयाँ नेतृत्वलाई मार्गदर्शन गरुन्, तर अधिकार र निर्णय क्षमतामा हस्तक्षेप नगरून्। राजनीतिक परिपक्वता, दृष्टिकोण, नीति निर्माणमा नवीन सोच भएका युवापुस्तालाई अगाडि ल्याउने हो भने नेपाली राजनीतिमा गहिरो रूपान्तरण सम्भव छ।
- किन गर्ने? गाउँ–गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि तथा यातायात जस्ता सेवा–सुविधा पुग्न थाले भने गाउँ नै बस्नलायक बन्छ। गाउँ जोगियो भने देश बाँच्ने सम्भावना बलियो हुन्छ। तर यसको लागि चाहिन्छ स्थायित्व, दूरदर्शी नीति, र स्वच्छ शासन—जसको बीजारोपण पुराना अनुहारलेभन्दा पनि नयाँ सोचले गर्न सक्छ।
९. प्रदेश खारेज
- के गर्ने? हालको सातवटा प्रदेशको संरचनालाई पुनर्विचार गर्दै, प्रदेश प्रणाली खारेज गर्ने वा न्यूनतम दुई प्रदेशमा सीमित गर्ने नीति तय गर्नुपर्छ। प्रदेश सरकारका अधिकार, स्रोत र जिम्मेवारीहरू संघ र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्छ, जसले प्रशासन झनै सरल, सस्तो र प्रभावकारी हुन्छ।
- किन गर्ने? अत्यधिक खर्चिलो संरचनाको सातवटा प्रदेश सरकार चलाउन करोडौं खर्चिन्छ, जसको प्रत्यक्ष सेवा जनताले पाउँदैनन्। कार्य दोहोरोपन र अधिकारको झगडा: संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको दोहोरोपनले योजना अवरुद्ध हुन्छ। जनताको माग विपरीत: अधिकांश नागरिकले न त प्रदेश मागेका थिए, न त त्यसमा विश्वास गर्छन्। स्थानीय सरकार बलियो भइसकेको सन्दर्भमा: गाउँपालिका/नगरपालिकाले जनप्रतिनिधिसहित सेवा प्रवाह गरिरहेका छन्, जसलाई अझ बलियो बनाएर प्रदेशको खालि संरचना हटाउन सकिन्छ।
१०. भ्रष्टाचारको फाइल खोलौं, कारबाही गरौं
- के गर्ने? विगत २० वर्षमा भएका ठूला भ्रष्टाचार प्रकरणहरू (जस्तै: ललिता निवास, बालुवाटार जग्गा, बुटवल-नारायणगढ सडक, वाइडबडी, ओम्नी, यती एयरलाइन्स, गोर्खा मिडिया, भिसा घोटाला, भाटभटेनी प्रकरण, भन्सार भुक्तानी, सशस्त्र अस्पताल भ्रष्टाचार, नेपाल टेलिकम 4G ठेक्का आदि) का सबै फाइलहरू पुनः खोली सार्वजनिक अनुसन्धान सुरु गरौं। ती प्रकरणमा संलग्न ठूला नेता, मन्त्री, सचिव, व्यापारी र नेटवर्कको नामसहित विशेष अदालतमा छिटो कारबाही होस् भन्ने व्यवस्था गरौं। श्वेतपत्र र डिजिटल ट्र्याकिङ प्रणाली लागू गरौं, जसले हरेक सरकारी खर्च र ठेक्काको निगरानी खुला स्रोतमा होस्। भ्रष्टाचारमा संलग्न व्यक्तिको सम्पत्ति तत्काल कुर्का र जफत गर्ने व्यवस्था गरौं।
- किन गर्ने? भ्रष्टाचारले जनताको करको पैसा लुटिन्छ, जसको कारण स्वास्थ्य, शिक्षा, सिँचाइ, रोजगारी, सडक, खानेपानी, विद्युत जस्ता आधारभूत सेवामा लगानी घटेको छ। शक्तिशाली नेता र ठूला व्यापारी मिलेमतोमा गरिने ठेक्कापट्टा र लुटतन्त्रले सिस्टममा अविश्वास बढेको छ। जबसम्म विगतका भ्रष्टाचारमा कारबाही हुँदैन, तबसम्म कसैले सिस्टम सुधार्ने विश्वास गर्दैन। भ्रष्टाचारले गर्दा नैतिक पतन, बेरोजगारी, वैदेशिक पलायन बढेको छ। कारबाही नहुँदा ‘तपाईं जति लुटे पनि पछि मिल्छ’ भन्ने परम्परा बनिरहन्छ।
निष्कर्ष: अब फर्कन नसके पनि रोक्न त सकिन्छ!
सबिनको जस्तै थुप्रै बाबुआमाको आँखाले अझै बाटो हेरेर बसेका छन्—सन्तान फर्कन्छन् कि भनेर। तर यथार्थ कठोर छ—सबै फर्किँदैनन्। कसैले बाकसमा फर्किन्छन्, कसैले पीडासँगै विदेशमै हराउँछन्। त्यसैले अबको यथार्थ प्रश्न हो: के अबका सन्तानलाई पनि त्यही नियति दोहोर्याउनु पर्ने?
हामीले वैदेशिक पलायनलाई विकल्प होइन, बाध्यता बनाएका छौं। विगतका पुस्ता फर्कन नसकुन्, तर कम्तीमा अब आउने पुस्तालाई त रोक्न सक्छौं। त्यसका लागि पाँच आधार आवश्यक छन् — रोजगारी, सीप, सम्बन्ध, संरचना, र मानवता। यी पाँच आधारमा केन्द्रित योजना, कार्यक्रम र अभियान नै अबको आवश्यकता हो।
सबिनका बाबु जसरी आज पनि छोराको प्रतीक्षामा एक्लै झ्यालको खिड्कीमा बसेका छन्, त्यस्तै बाबुआमाहरू हजारौँ गाउँमा छन्। त्यस्ता आँखाबाट बाटो हेर्न बाध्य बनाउने कारणहरू हामी सबैको सामूहिक कमजोरी हुन्। अब ती आँखालाई विश्राम दिन, देशमै छोराछोरीसँग बाँच्न सक्ने वातावरण बनाउनु हाम्रो साझा जिम्मेवारी हो। अब ती तीन परिवारको मिलन कहिले होला ?
हामीसँग तीन गम्भीर प्रश्न छन् —
- के हामी सुखी छौं?
- के हाम्रा आमाबाबु सन्तुष्ट छन्?
- के अबका सन्तान बाकसमा फर्किन नपरोस् भनेर हामी केही गरिरहेका छौं?
यी प्रश्नहरू केवल बहसका लागि होइनन् — नीति, संरचना र व्यवहारमा परिवर्तन ल्याउन प्रेरक बनून्।
अन्त्यमा ….
जनताको आँसु केवल आँसुको रुपमा नरहोस् — त्यो नीति रूपान्तरणको इन्धन बनोस्।परदेशिएको पुस्ता फर्काउने प्रयास गरौं, आउँदो पुस्तालाई जोगाउने प्रण गरौं, अनि देश बनाउने हिम्मत गरौं।
हाम्रो सपना विदेश होइन, आफ्नै माटोमा सम्भव छ — बस् त्यसको थालनी आजैबाट होस्।