राम कुमार शर्मा /एनभि खबर / असार १८ बुधवार
मोरङ्ग । स्कुल बसले किचेर एक जना बालकको मृत्यु भएको छ । गढी गाउँपालिका-६ मा पर्ने भित्री पक्की सडक खण्डमा भएको दुर्घटनामा तीन वर्षीय आयुष उराउको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गढी–३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले मंगलबार अपराह्न नाबालकलाई किचेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार स्कुल छुट्टी भएपछि नाबालक त्यही बसेमा चढेर घर फर्कँदै थिए ।
बसबाट ओर्लिँदै गर्दा लडेर उनी बसको चक्कामुनि पुगेका थिए । चक्काले उनको किचिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक गढी-३ का विनोदकुमार मेहता फरार छन् । प्रहरीले उनलाई खोजिरहेको छ ।
मृतक बालकका आफन्त र स्थानीयले चालकको लापरबाहीले बालकको ज्यान गएको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनीहरुले दोषी पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।