सुधीर कर्ण
विराटनगर, पौष २२
काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति संघर्ष तीव्र बन्दै गएको छ। केन्द्रीय समिति सदस्य बिमलेन्द्र निधिले आज आफू गगन थापा समूहका केही नेताहरूबाट धम्की र दबाबमा परेको आरोप लगाएपछि पार्टीभित्र तरंग पैदा भएको छ।
निधिका अनुसार आफूलाई धम्की दिने व्यक्तिहरू मद्यपानको अवस्थामा रहेको र उनीहरूले अघि सारेको माग अहिलेको आवश्यकता नभएको बताए। उनले भने, “विशेष महाधिवेशनको माग अहिले सान्दर्भिक छैन। पार्टीको नियमित महाधिवेशन २०८३ वैशाख २८, २९, ३० र ३१ गते तोकिएकै समयमा हुन्छ।”
उनले थपे, “अहिले हामी अन्य दलहरूसँग राष्ट्रिय सभाको निर्वाचनका लागि चुनावी तालमेलमा व्यस्त छौं। यो निर्णय केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ र कानुनी तथा वैधानिक छ। त्यसैले आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्छ, विशेष महाधिवेशन अहिलेको प्राथमिकता होइन।”

५४ प्रतिशत हस्ताक्षर अघि सार्दै दबाब
गगन थापा–विश्वप्रकाश शर्मा पक्षधर नेताहरूले भने पार्टी विधानको धारा १७ को उपधारा (२) अनुसार ५४ प्रतिशत हस्ताक्षरसहित विशेष महाधिवेशनको माग वैधानिक भएको दाबी गरेका छन्। उनीहरूले पौष २६, २७ र २८ गते विशेष महाधिवेशन गरिनुपर्ने अडान राख्दै भृकुटीमण्डपको हलसमेत बुक गरिएको बताएका छन्।
उक्त समूहले केन्द्रीय समिति वा पार्टी सभापति शेरबहादुर देउवाले अवरोध गरे पनि ‘कुनै पनि हालतमा’ विशेष महाधिवेशन अघि बढ्ने चेतावनी दिएको छ।
कांग्रेसभित्र तीन स्पष्ट धार
वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र तीन स्पष्ट धार देखिएका छन्—
- पार्टी सभापति शेरबहादुर देउवा पक्ष
- डा. शेखर कोइराला पक्ष
- महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्ष
यी तीनै धारबीचको मतभेदले पार्टीभित्र गहिरो अन्योल र असन्तुलन सिर्जना गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
फुटको आशंका, तर अस्वीकार
पार्टीभित्रको यो टकरावले कांग्रेस फुटको संघारमा पुगेको हो कि? भन्ने प्रश्न उठे पनि गगन थापा र उनका पक्षधर नेताहरूले “कुनै हालतमा पनि कांग्रेस नटुट्ने” दाबी गरेका छन्।
यद्यपि, शक्ति संघर्ष चर्किँदै जाँदा कांग्रेसको भावी दिशा, नेतृत्व र संगठनात्मक एकतामाथि गम्भीर प्रश्नहरू उब्जिन थालेका छन्।
