राम कुमार शर्मा
रङ्गेली, ४ जेष्ठ
मोरङ, रतुवामाई नगरपालिका–६ स्थित त्रिवेणी चोकमा आइतबार साँझ भएको एक दर्दनाक मोटरसाइकल दुर्घटनामा ४५ वर्षीया महिलाको ज्यान गएको छ।
दुर्घटनामा रतुवामाई–५ की भवानी मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भवानी मेहता आफ्ना २३ वर्षीय छोरा रमेश मेहतासँग प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकलमा आमबारीबाट उर्लाबारीतर्फ जाँदै थिइन्।
आइतबार साँझ ६:४० बजे मोटरसाइकल त्रिवेणी चोकमा पुग्दा बाटोमा अचानक कुकुर देखिएपछि चालक रमेशले कुकुर जोगाउने प्रयास गरेका थिए। तर, सन्तुलन गुमाउँदै मोटरसाइकल चिप्लिएर दुर्घटनामा परेको थियो।
गम्भीर घाइते भएकी भवानी मेहतालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। तर, साँझ ७:१० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
दुर्घटनामा चालक छोरा रमेश मेहता सकुशल रहेका छन्। हाल उनी प्रहरी नियन्त्रणमा छन्।
घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको इन्स्पेक्टर होमप्रसाद अधिकारीको टोलीले गरिरहेको प्रहरीले जनाएको छ।